आकस्मिक गर्भनिरोध
कहिलेकाहीँ चाहँदा नचाहँदै गर्भ रहन सक्छ । त्यसरी इच्छा विपरीत रहन सक्ने गर्भ तुरुन्त रोक्ने उपायलाई आकस्मिक गर्भ निरोध भनिन्छ । आकस्मिक गर्भनिरोध भनेको असुरक्षित यौनसम्पर्क पछि गर्भधारण हुनबाट रोक्न मद्दत गर्ने एउटा विधि हो। यो अस्थायी गर्भनिरोधकका साधनहरु जस्तो होइन तर असुरक्षित यौन सम्पर्क भएको अवस्थामा यो साधन ५ दिन भित्र (१२० घण्टा) प्रयोग गर्न सकिन्छ ।
कहिले प्रयोग गर्ने ?
यसलाई असुरक्षित यौनसम्पर्क भएको जती सक्दो चाँडै ५ दिन (१२० घण्टा) भित्र प्रयोग गर्नु पर्दछ 'तर असुरक्षित यौनसम्पर्क पछि जति सक्दो चाँडो प्रयोग गरेमा बढी प्रभावकारी हुन्छ । १२० घण्टाको गणना गर्दा असुरक्षित यौनसम्पर्क भएको समय देखि गणना गर्नुपर्छ ।
आकस्मिक गर्भनिरोधका बिधिहरु प्रयोग गर्ने अवस्थाहरु
गर्भधारणको योजना नभएकाहरुमा असुरक्षित यौनसम्पर्क भएमा निम्न अवस्थाहरुमा आकस्मिक गर्भनिरोधका बिधिहरु प्रयोग गर्न सकिन्छ ।
- लगातार ३ दिनसम्म गर्भनिरोधको मिश्रित चक्की (COC Pills) खान छुटेमा वा पुनः नयाँ पत्ता सुरु गर्न ३ दिन वा बढि ढिलो भएमा,
- तिन महिने सुई (डिपोप्रोभेरा) लिनु पर्ने मिति भन्दा चार हप्ता बढी समय सम्म लिन ढिलो भएमा,
- विर्य बाहिर खसाल्ने विधि असफल भएमा,
- आई.यु.डी. वा हर्मोनयुक्त गर्भनिरोध इम्प्लान्ट आंशिक वा पूर्ण रुपमा बाहिर निस्किएमा,
- कन्डम चिप्लेमा, चुहिएमा वा फुटेमा,
- प्रजनन सर्तकतामा आधारित बिधिको गलत गणना भएमा
- बलात्कार भएको अवस्थामा
- कुनै पनि गर्भनिरोधको साधन प्रयोग नगरेमा
नेपालमा पाइने आकस्मिक गर्भ निरोधकका साधनहरु
- मिश्रित खाने चक्की
- प्रोजोस्टिन मात्र भएको खाने चक्की (eg CRS - e-CON, SR Drug - Okay, Ohm Pharmaceutical - Unwanted, Lomus Pharmaceutical - Feminor)
- Ulipristal acetate (eg. Ella--containing 30mg antiprogestin Ulipristal acetate)
- आई.यू.सी.डी (कपर टी ३८०A)
आकस्मिक गर्भनिरोधक साधनहरुले कसरी गर्भधारण हुनबाट बचाउँछ ?
- प्रोजेस्ट्रोन मात्र भएको पिल्स/मिश्रीत खाने चक्की (पिल्स): आकस्मिक गर्भनिरोधक साधनले डिम्बासयमा डिम्ब बन्ने काममा ढिलो गरिदिन्छ अथवा डिम्ब निस्कन दिदैन । महिला गर्भवती भएमा आकस्मिक गर्भ निरोधले काम गर्दैन ।
- आई.यू.सी.डी.: आकस्मिक गर्भनिरोधक साधनहरु मध्ये आइ.यू.सी.डी पनि एक हो। यसले इम्प्लान्टेसनलाई बाधा पुऱ्याउँछ । असुरक्षित यौन सम्पर्क भएपछि सकेसम्म चाँडो वा ५ दिनभित्रै पाठेघरमा लगाउनु पर्छ। यो दिर्घकालिन साधन भएकाले यसको प्रयोगकाबारे राम्ररी परामर्श दिनुपर्छ
आकस्मिक गर्भनिरोधकका साधनहरु र सम्झनु पर्ने कुराहरुः
किसिम | आकस्मिक गर्भनिरोध र थप जानकारी |
हर्मोनयुक्त आकस्मिक गर्भनिरोधक |
|
मिश्रित खाने (जम्मा ८ चक्की खाने) | - असुरक्षित यौन सम्पर्क पछि जति सक्दो चांडी आकस्मिक गर्भनिरोध चक्की खानु पर्दछ ।
- साधारणतया ७२ घण्टा (३ दिन) भित्र खानुपर्दछ । तर १२० घण्टाभित्र सम्ममा पनि प्रयोग गर्न सकिन्छ । जति ढिलो भयो त्यति नै प्रभावकारिता कम हुँदै जान्छ ।
- पछिल्लो महिनावारी देखि असुरक्षित यौन सम्पर्कहरु गरेको भए गर्भवती भइसकेको हुन सक्छिन् र आकस्मिक गर्भनिरोध चक्कीले काम नगर्न सक्छ ।
- यस्तो अवस्थामा गर्भवती भइसकेको भए पनि आकस्मिक गर्भनिरोध चक्कीले गर्भलाई हानि गर्दैन। अर्को महिनाको महिनावारी हुनुपर्ने समयभन्दा १ हप्ताभन्दा बढि ढिलो भएमा पुनः परिक्षण गर्नुपर्दछ ।
- जम्मा मात्रा ~ ०.२ मि.ग्रा. ईथीनाईल इस्ट्रडायल १.० मि.ग्रा. लेभोनजेस्ट्रोल (or 2.0 mg of norgestrel)
- ४ चक्की असुरक्षित यौन सम्र्पक भएको सकेसम्म चाँडो खाने र १२ घण्टा पछी ४ चक्की खाने
- पिल्स चक्की लिइरहेकी छिन भने वाक वाकी नलाग्ने औषधी पनि खानु पर्ने हुन सक्दछ ।
- आकस्मिक गर्भनिरोध चक्की खाएको दुइघण्टा भित्रमा बान्ता गरेमा फेरि आकस्मिक गर्भनिरोध चक्की खानु पर्दछ ।
- चक्की खाएको केहि दिनसम्म महिनावारी भएजस्तो रगतको थोपा देखा पर्न सक्छ ।
|
प्रोजेस्टिन मात्र भएको खाने चक्की | - यसले राम्रोसंग काम गर्छ र मिश्रित आकस्मिक गर्भनिरोध चक्की (COC) ले भन्दा कम वाकवाकी तथा वान्ता आउने गराउन सक्छ ।
- १.५ मि.ग्रा. लेभोनजेस्ट्रोल एकै पटक अथवा
- २ चक्की असुरक्षित यौन सम्पर्क भएको सकेसम्म चाँडो खाने (एक पटकमा) अथवा
- ०.७५ मि.ग्रा. लेभोनजेस्ट्रोल १ चक्की जती सक्दो चाँडो खाने र त्यसको १२ घण्टा पछि अर्को एक चक्की खाने । यो औषधी पसलहरूमा किन्न पनि पाइन्छ ।
|
Ulipristal acetate (antiprogestin) | - Ulipristal acetate (eg. Ella®--containing 30mg antiprogestin Ulipristal acetate)
|
हर्मोन नभएको आकस्मिक गर्भनिरोधक |
|
आई.यू.सी.डी. | - असुरक्षित यौन सम्पर्क भएको १२० घण्टा भित्रै लगाउनु पर्छ ।
- गत ५ दिनभित्रमा असुरक्षित यौन सम्पर्क भएको भए आइ.यू.सी.डी प्रयोग गर्न सकिन्छ ।
- तालिम प्राप्त स्वास्थ्य कर्मीले पाठेघरमा आई.यू.सी.डी राखिदिन्छन् ।
- आई.यू.सी.डी पछि निकाल्न पनि सकिन्छ वा परिवार नियोजनका लागि पाठेघरमा राखिरहन सकिन्छ ।
- अति प्रभावकारी हुन्छ: आकस्मिक गर्भनिरोध खाने चक्की भन्दा पनि बढी प्रभावकारी हुन्छ ।
- यदि महिलाको डिम्ब निस्काशन हुने समय थाह पाउन सकिएमा असुरक्षित यौन सम्पर्क भएको ५ दिनपछि पनि आई.यू.सी.डी प्रयोग गर्न सकिन्छ । तर डिम्ब निष्कासनको पाँच दिनभन्दा ढिलो गर्नु हुँदैन ।
- आकस्मिक गर्भ निरोधको लागि राखिएको आई.यू.सी.डी.लाई नै नियमित परिवार नियोजनको लागि प्रयोग गर्न सकिन्छ वा कुनै पनि समय निकाल्न सकिन्छ । आई.यू.सी.डीले १२ वर्षसम्म गर्भनिरोधकको रुपमा काम गर्न सक्छ ।
- आकस्मिक आई.यू.सी.डीले गर्भधारण नरोके यसलाई निकाल्नु पर्छ ।
|
बुझिराख्नुपर्ने कुरा: आकस्मिक गर्भनिरोध चक्की आकस्मिक अवस्थाको लागि मात्र हो। यो परिवार नियोजनको नियमित साधन होइन । यसले एच.आई.भी र यौन संक्रमणबाट बचाउँदैन। एच.आई.भी/यौन संक्रमणबाट बच्न हरेक पटकको यौन सम्पर्कमा सहि तरिकाले कण्डमको प्रयोग गर्नुपर्दछ ।
आकस्मिक गर्भनिरोधकका साधन प्रयोग गरेरपनि गर्भवती भएमा
आकस्मिक गर्भनिरोधक चक्की असफल भएर गर्भधारण हुन सक्ने सम्भावना कम भएता पनि कुनै–कुनै महिलामा अनिच्छित गर्भधारण हुनसक्छ । यदि कुनै महिलाको अनिच्छित गर्भधारण भएमा र गर्भलाई निरन्तरता दिने भएमा नजिकको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच तथा थप जानकारी र परामर्श को लागि सम्पर्क गर्नुपर्दछ भने गर्भपतन गराउने भएमा गर्भपतनका लागि सुचिकृत भएको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।
बारम्बार सोधिने प्रश्नहरू
१. के आकस्मिक गर्भनिरोधक चक्की सुरक्षित छ ?
यो सुरक्षित छ । आकस्मिक गर्भनिरोधक चक्कीमा औषधी को मात्रा थोरै र खाने अवधि कम भएकोले हर्मोनयुक्त अन्य गर्भनिरोधले असर गर्ने महिलाहरुले पनि यसलाई प्रयोग गर्न सक्छन् ।
२. के आकस्मिक गर्भनिरोध चक्कीले गर्भलाई असर गर्छ ?
अहँ, गर्दैन । यदि महिला पहिले नै गर्भवती छिन् भने आकस्मिक गर्भनिरोध चक्कीले काम गर्दैन । यसले फरक चक्रमा फरक तरिकाले कार्य गर्दछ । यसले डिम्ब निस्कासन र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन रोके पनि यस्ले पहिल्यै नै टाँसिसकेको भए सोलाई असर गर्ने छैन ।
३. के आकस्मिक गर्भनिरोधक चक्कीले जन्मजात असर गराउँछ ?
अहँ, गराउँदैन । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोगपछि पनि महिला गर्भवती हुने र भ्रुणमा कुनै प्रतिकूल असर नपर्ने प्रमाणले देखाउँछ ।
४. के आकस्मिक गर्भनिरोधक चक्कीले भावी असुरक्षित यौन सम्पर्कबाट हुने अनिश्चित गर्भधारण वाट जोगाउँछ ?
अहँ, जोगाउँदैन । प्रत्येक असुरक्षित यौन सम्पर्क बाट हुने गर्भ रोक्नका लागि प्रत्येक पटक आकस्मिक गर्भनिरोधक चक्की खानुपर्छ र यसले भावी असुरक्षित यौन सम्पर्कबाट जोगाउदैन ।
५. के आकस्मिक गर्भनिरोधक चक्कीले यौन संक्रमण र एचआईभीबाट जोगाउँछ ?
अहँ, जोगाउँदैन। यौन संक्रमण र एचआईभीबाट बच्न यौन जोडीले सही तरिकाले नियमित रूपमा कन्डमको प्रयोग गर्नुपर्छ ।
६. के आकस्मिक गर्भनिरोधक चक्की एचआईभी भएका महिलाको लागि सुरक्षित छ ?
यो सुरक्षित छ। एचआईभी भएका र एन्टिरेट्रोभाइरल थेरापीमा रहेका महिलाले आकस्मिक गर्भनिरोधक चक्की खान सक्छन् । तर संक्रमित यौनजोडीले सही तरिकाले नियमित रूपमा दोहोरो सुरक्षाका लागि कन्डमको प्रयोग गर्नुपर्छ ।
७. के आकस्मिक गर्भनिरोध चक्की किशोरीहरूका लागि सुरक्षित छन् ?
यो सुरक्षित छ। १३ वर्षदेखि १६ वर्षसम्मका किशोरीहरूमा आकस्मिक गर्भनिरोध चक्कीको प्रयोग सम्बन्धी अध्ययनले यो सुरक्षित रहेको पाएको छ । त्यसैगरी, अध्ययनमा रहेका सबै सहभागीहरू सही तरिकाले आकस्मिक गर्भनिरोध चक्कीको प्रयोग गर्न सक्षम थिए ।
८. के महिलाले आकस्मिक गर्भनिरोधक चक्कीलाई गर्भनिरोधको नियमित विधिको रूपमा प्रयोग गर्नुपर्छ ?
अहँ, गर्नुहुदैन। आकस्मिक गर्भनिरोधक चक्की आकस्मिक अवस्थाको लागि मात्र हो र नियमित रूपमा खादा यसले समान प्रभावकारिता प्रदान गर्दैन ।
९. यदि महिलाले आकस्मिक गर्भनिरोधक चक्की आफैले मेडिकल सुपरीवेक्षण बिना सही रूपमा प्रयोग गर्न सक्छिन् ?
हो, सक्छिन । आकस्मिक गर्भनिरोधक चक्की खान मेडिकल सुपरीवेक्षण आवश्यक पर्दैन । नेपाल र अन्य धेरै मुलुकहरुमा आकस्मिक गर्भनिरोधक चक्की औषधि पसलबाट बिना प्रेस्क्रिप्सन सजिलै बेच्न पाउने गरी स्वीकृत गरिएको छ ।
१०. आकस्मिक गर्भनिरोधक चक्कीको पहिलो मात्रापछि महिलाले गम्भीर बान्ता गरि अर्को मात्रा लिन सकिनन् भने ती महिलाले के गर्नुपर्छ ?
यदि महिलाले आकस्मिक गर्भनिरोध चक्की लिएको दुई घण्टाभित्र बान्ता गर्छिन् भने बान्ता रोक्ने औषधिसँगै आकस्मिक गर्भनिरोधक चक्की फेरि खानुपर्छ। यदि त्यस महिलाले फेरी पनि बान्ता गरेमा महिलाले चक्कीलै योनी भित्रको माथिल्लो भागमा राखी प्रयोग गर्न सकिन्छ ।
११. असुरक्षित यौन सम्पर्क भएको १२० घण्टा पछि महिला आउँछिन् भने के उनले आकस्मिक गर्भनिरोध चक्की लिन सक्छिन् ?
अहँ, लिन मिल्दैन। लेवोनोरजेस्ट्रल मात्रचक्की १२० घण्टा भित्र मात्र लिन सकिन्छ । अन्य विकल्प हरु बारे परामर्श लिनु आवश्यक हुन सक्दछ ।
१२. के महिलाले आकस्मिक गर्भनिरोध चक्की एकल मात्रामा नै लिन सक्छिन् ?
हो, सकिन्छ । १.५ mg को लेवोनोरजेस्ट्रल-मात्र चक्कीलाई एकल मात्राको रूपमा प्रयोग गर्न सकिन्छ, अर्थात् असुरक्षित यौन सम्पर्क भएको १२० घण्टा भित्र ।
१३. के महिलाले यौन सम्पर्क गर्नुभन्दा पहिले नै आकस्मिक गर्भनिरोध चक्की खान सक्छिन् ?
यसले असुरक्षित यौन सम्पर्क भएपछिको अनिच्छित गर्भधारणबाट बचाउँछ। यौनसम्पर्क गर्नुभन्दा पहिले नै आकस्मिक गर्भनिरोध चक्की उचित हुँदैन ।
१४. के महिलालाई आकस्मिक गर्भनिरोधक चक्की अग्रिम रुपमा वितरण गर्न मिल्छ? के यसले अन्य नियमित गर्भनिरोधक साधन को प्रयोगलाई हतोत्साहित वा असर गर्दैन ?
हो, गर्न मिल्छ। विशेष परिस्थितिमा जस्तै प्राकृतिक वा मानव सृजित विपद् वा मानवीय सहायताको आवश्यकता भएको अवस्थामा (जस्तै बाढी, पहिरो, भूकम्प, महामारी, द्वन्द, बन्द आदि) हुन सक्ने अनिच्छित गर्भरोक्नलाई संभावित सेवाग्राहीलाई आकस्मिक गर्भनिरोधक चक्की अगावै स्वास्थ्य संस्थाबाट वितरण गर्न सकिने व्यवस्था रहेको पनि हुन्छ । र यसले नियमित गर्भनिरोधक साधन को प्रयोगलाई हतोत्साहित गर्दैन ।
१५. महिलाले स्तनपान गराइरहेकी छिन् भने के उनले आकस्मिक गर्भनिरोधक चक्की लिन सक्छिन् ?
हो सक्छिन। आकस्मिक गर्भनिरोध चक्कीले आमाको दूधको परिमाण र गुणस्तरमा कुनै असर नगर्ने भएकोले स्तनपान गराइरहेकी महिलालाई लेवोनोरजेस्ट्रल-मात्र भएको आकस्मिक गर्भनिरोधक चक्की दिन सकिन्छ ।
१६. आकस्मिक गर्भनिरोधक चक्की प्रदान गर्दा कुनै शारीरिक जाँच गर्ने सल्लाह दिइन्छ ?
आकस्मिक गर्भनिरोधक चक्की प्रदान गर्दा कुनै पनि शारीरिक जाँचको आवश्यकता पर्दैन ।
सन्दर्भ सामग्रीहरु
१. आकस्मिक गर्भनिरोधक सेवा कार्यक्रम कार्यान्वयनका लागि सहजिकरण सामग्री, २०७८
२. परिवार नियोजन सेवा कार्यक्रमको लागि कम्प्रीहेन्सिभ परिवार नियोजन (कोफ) तथा परामर्श सेवा, सन्दर्भ पुस्तिका, २०७३
३. परिवार नियोजनका ग्राहक र सेवा प्रदायकका लागि निर्णय सामाग्री नेपाली संस्करण, २०७१
४. NatioNal Medical StaNdard For reproductive Health, Volume I: Contraceptive Services, DoHS, FWD 2020
Leave Your Comment
Mukesh Kumar Chaudhary
2026-03-08 08:55:40