दादुरा रोग (Measles)
परिचय
दादुरा रोग अति संक्रामक Measles भाइरसबाट हुने रोग हो। खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाको बढी मृत्यु गराउँछ। यस रोगले भन्दा पनि यस रोग पछिका जटिलताहरूका कारणले बच्चाहरूको बढी मृत्यु भएको पाईन्छ ।
दादुरा बारे जान्नै पर्ने कुरा
- दादुरा Measles भाइरसबाट हुने अति संक्रामक रोग हो। अति संक्रामक भएको कारणले गर्दा यो रोगले छिट्टै महामारीको रूप लिन सक्दछ ।
- यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
- यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेष गरि बालबालिकालाई लाग्न सक्दछ ।
- यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने, जस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ ।
रोग सर्ने तरिका
- रोगीले हाच्छ्यूँ गर्दा, खोक्दा हावाको माध्यमबाट र रोगीसँगको प्रत्यक्ष सम्पर्कमा आउने अर्को व्यक्तिलाई रोग सर्दछ ।
- यो रोग समूहमा जमघट हुने वा भिड हुने स्थानहरूमा सजिलैसँग सर्छ जस्तै विद्यालय, सिनेमा हल, आदि ।
लक्षण र चिन्हहरू
- दादुरा रोगको पहिलो लक्षण ज्वरो आउनु हो। रोगीसँग सम्पर्क भएको १०-१२ दिन पछि ज्वरो (१०३ देखि १०५ Degree फ.),आउँछ ।
- ज्वरो आएको २-४ दिनपछि अनुहार तथा शरिरमा साना साना राता विविरा आउने ।
- मुखको भित्री भागमा मसिना सेतो दागहरू (koplik's spots) देखा पर्दछन् ।
- नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँशु बग्ने लक्षण देखिन्छन् र केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका बिविरा (Rash) देखा पर्दछन् । यी विविरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिविरा ५/६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् ।
- सामान्यतया यो रोगको भाइरस शरीरमा प्रवेश गरिसकेपछि यसको लक्षणहरू १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) भित्र देखिन्छन् ।
- दादुराको जटिलताको कारणले कान पाक्ने, झाडापखाला, कडा कुपोषण र निमोनिया हुनसक्छ र धेरैजसो बालबालिकाहरूको न्युमोनियाबाट मृत्यु हुन्छ ।
त्यसैले दादुराका चिन्ह वा लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।
उपचार
दादुरा रोगको खासै उपचार छैन लक्षण अनुसार उपचार गर्ने र यसको जटिलताको समयमा नै उपचार भएमा यसबाट हुने मृत्युलाई कमी ल्याउन सकिन्छ। दादुराको विरामी पत्ता लागेमा गरिने उपचार तथा व्यवस्थापन यस प्रकार रहेको छ ।
- शंकास्पद विरामीहरूमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
- महामारी फैलन नदिन शंकास्पद विरामीहरूलाई आइसोलेसनमा राख्ने ।
- हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रूमालले छोप्ने ।
- व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिने । बेला बेलामा साबुन पानीले मिचिमिची हात धुने ।
- संक्रमित व्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरू नलैजाने र नपठाउने। घर भित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने ।
- संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहने ।
- दादुरा संक्रमित बालबालिकालाई साविक भन्दा बढी पोषिलो खानेकुरा खुवाउने गरौं ।
- दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ । दादुरा रोग लाग्ने बित्तिकै २ मात्रा भिटामिन ए (६) महिना देखि एक वर्ष मूनिलाई १ लाख IU र १२ महिना भन्दा माथिलाई २ लाख IU) दिनुपर्दछ ।
- विस्तृत उपचार नवशिशु तथा बाल रोगको एकिकृत व्यवस्थापनको निर्देशिका अनुसार गर्नुपर्दछ ।
रोकथाम
- दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बच्न सकिन्छ ।
- नेपालमा दादुरा तथा रुबेला दुबै मिश्रित (दादुरा रुबेला) खोप उपलब्ध छ । जुन बच्चाको उमेर ९ महिना पूरा भए देखि १५ महिना भित्र २ पटक लगाउनु पर्छ ।
- बिरामीलाई अरु केटाकेटीको सम्पर्कबाट टाढा राख्ने ।
मुख्य बुँदाहरू
- यो रोग भाइरसद्वारा हुने अति संक्रामक रोग हो ।
- रोगीले हाच्छ्यू गर्दा, खोक्दा र रोगीसँगको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्दछ ।
- ज्वरो आउनु, अनुहार तथा शरिरमा साना साना राता बिविरा आउनु, रुघा खोकी लाग्नु, आँखा रातो हुनु वा आँशु बग्नु यस रोगका प्रमुख लक्षणहरू हुन् ।
- दादुरा रोग लागेमा २ मात्रा भिटामिन ए दिनुपर्दछ ।
- दादुरा रोगको रोकथाम गर्नको लागि २ मात्रा दादुरा रुबेला मिश्रित खोप तोकिएको समयमा दिनुपर्छ ।
नोट: Fever with rashes (ज्वरो सहित शरीरमा बिविरा) देखा परेमा जुनसुकै बिरामीलाई दादुराको शंकास्पद रोगीको रुपमा लिनु पर्दछ ।

Leave Your Comment