बागलुङ ढोरपाटनका ४७ बालबालिकामा दादुरा संक्रमण
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का ४७ बालबालिकामा दादुरा संक्रमण भएको छ । केही दिनअघिदेखि यहाँका बालबालिकामा छिटफुट दादुराको संकेत देखिएपछि ८ जनाको नमुना परीक्षण गरिएको थियो । सो क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ जनामा पुष्टि भएको जनाएको थियो ।
यस्तै, प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा मंगलबार र बुधबार नमुना परीक्षण गर्दा अहिलेसम्म ४७ जनामा दादुरा संक्रमण पुष्टि भएको हो । कार्यालयका खोप सुपरभाइजरका राजु खत्रीका अनुसार तत्काल उपचार र आइसोलेसनको व्यवस्थापन नगरे गाउँभरी फैलने जोखिम छ।
खत्रीसहित धौलागिरी अस्पताल र बुर्तिवाङ अस्पतालका डाक्टरले सम्भावित बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा धेरैमा समस्या देखिएको बताएका छन् । ‘प्रारम्भिक रुपमा परीक्षण गर्दा धेरै समस्या आउनसक्ने देखियो, तत्काल रोकथामको उपाय खोजी गर्दैछौं,’ उनले भने, ‘गाउँमै उत्पत्ति भयो वा कतैबाट सरेर आएको हो भन्ने समेत खोजी भैरहेको छ ।’ तीव्र रुपमा सर्ने रोग भएकोले विद्यालय उमेर समूहका बालबालिकामा छिटो संक्रमण हुने उनले बताए ।
संक्रमण भएकाहरू अधिकांस १० देखि १८ वर्ष भित्रका छन् । अधिकांस बालबालिकालाई ज्वरो, खोकी र शरीरमा बिबिरा आएको स्थानीय स्वास्थ्य चौकीका प्रमुख दिपक थापाले जानकारी दिए । ‘यी गाउँहरू दुर्गम क्षेत्रमा छन्, त्यसैले पहिला खोप नलगाएको पनि हुन सक्छ’ उनले भने, ‘अन्य कारण पनि होला, अध्ययन नभइ वास्तविक भन्न सकिँदैन् ।’ तत्काल रोकथामका लागि प्राथमिक उपचारका काम भने भैरहेको उनले जानकारी दिए ।
भाइरल प्रकृतिको रोग भएकोले कोभिड झै आइसोलेसनमा राखेर उपचार गर्न सके छिटो निको हुने र रोकथाम गर्न सकिने उनले जानकारी दिए । धेरै स्वास्थ्यकर्मी निर्वाचनमा खटिएकोले शुक्रबारदेखि मात्रै प्रभावित क्षेत्रमा सघन रुपमा खोजी र उपचारका काम अगाडि बढाइनेछ । नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियान सञ्चालन गरिरहेको छ । यो समस्या देखिएपछि थप गम्भीर रुपमा लिएर उपचारसहित खोजी र परीक्षणको दायरा समेत फराकिलो बनाउनुपर्ने वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
समाचार स्रोतः कान्तिपुर

Leave Your Comment