Logo
धर्मो रक्षति रक्षितः

Menstrual Hygiene Day

May 28
International Public Health Days
All 2025 2024 2023 2022 2021 2020 2019 2018 2017 2016 2015 2014
Shisir Kumar Adhikari 0 833 0

महिनावारी स्वच्छता दिवस (Menstrual Hygiene Day)

महिनावारी सम्बन्धी जागरुकता, समावेशिता र समानता, सशक्तिकरण र नीतिगत वकालतका लागी  महिनावारी स्वच्छता दिवस हरेक वर्ष मे २८ मा मनाउने गरिन्छ । नेपालमा महिनावारी स्वच्छता दिवस सन् २०१४ बाट मनाउन थालिएको हो।

महिनावारी के हो ?
महिनाको एक पटक महिलाको योनीबाट रगत बग्नुलाई महिनावारी भनिन्छ । महिनावारी महिलाको प्रजनन् क्रियासँग जोडिएको एक जैविक शारिरीक प्रक्रिया हो। पाठेघरको भित्री भागमा हरेक महिना विकसित हुने धर्कोजस्तो रगतको मोटा फाल्सो (Endometrium) बाहिर निस्किने प्रक्रिया नै महिनावारी हो । पाठेघरबाहिर निक्लिने रगत (सर्भिक्स) पाठेघरको मुख हुँदै योनी बाहिर पुग्छ। यो रगत निक्लिने क्रम ३ देखि ७ दिनसम्म चल्दछ । सामान्यतः यो क्रम हरेक २८ दिनमा हुन्छ । महिनावारी हुनु बिरामी हुनु होइन । तर, राम्रो व्यवस्थापन नहुँदा यो पीडादायी हुन्छ र स्वास्थ्य समस्या बन्न सक्दछ । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ त कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधारण मानिन्छ । केटिहरुमा सामान्यतया किशोरावस्थामा महिनावारी शुरु हुने गर्दछ । महिनावारी हुनु भनेको किशोरिहरुको शारिरिक विकास सामान्यरुपमा भैरहेको संकेत पनि हो र महिनावारीको बेला हुने बिभिन्न रागरसका परिवर्तनले गर्दा किशोरिहरुमा कैयौँ शारिरिक र मानसिक परिवर्तन देखिने गर्दछ । महिनावारी महिलाहरुको रजोनिवृत्त नहुन्जेल सम्म करिब ४५/४९ वर्षको उमेर सम्म हुने गर्दछ ।

महिनावारी किन र कसरी हुन्छ ?
शारीरिक विकास-क्रममा परिवर्तन हुने हर्मोनहरूको कारणले महिनावारी हुने हो। महिनावारी भनेको शारीरिक प्रकृया हो । यो महिलाको शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने क्षमता हो। यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनीमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

डिम्बाशयबाट डिम्ब निश्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बग्छ । प्रत्येक महिनावारी चक्रमा रागरस को मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री तहका सूक्ष्म रक्त नलिहरु फैलने तथा कोषहरु वृद्धि हुन जान्छन् जसको कारणले गर्दा पाठेघरको भित्री तह बाक्लो र नरम बन्दछ । यदि महिलामा गर्भधारण हुँदैन भने रगरासको मात्रामा विपरित किसिमले परिवर्तन आउने हुँदा ती सुक्ष्म रक्तनलीहरु फैलन बन्द हुन्छ र पाठेघरको भित्रितहमा बनेको नरम र बाक्लो तह कायम हुन नसकि फुटेर महिनावारीको रुपमा रक्तस्राव हुन्छ । साथै महिनावारी शुरु हुनु भनेको महिला प्रजनन गर्न सक्षम भएको अवस्थाको संकेत पनि हो। साधारणतया महिनामा २८ दिनमा एक पटक महिलाहरुको योनीबाट रगत बग्छ । यो २१ देखि ३५ दिन भित्रमा हुन्छ र ३-५ दिनसम्म रगत बग्दछ ।

महिलाहरुको डिम्बाशयबाट इस्ट्रोजन तथा प्रोजेस्टेरोन नामक रगरास उत्पादन हुन्छन् । जसको प्रभावले महिनावारी हुन्छ । डिम्बाशय (पाठेघर) महिलामा मात्र हुने भएकाले महिलामा नै महिनावारी हुन्छ । महिनावारी सामान्यतः २८ दिनको अन्तरमा हुन्छ । तर, कसै-कसैमा कहिलेकाही २१ देखि ३५ दिनको अन्तरमा पनि हुन्छ । हरेक पटक महिनावारी हुँदा डिम्बाशयभित्र परिपक्व भएको एक डिम्ब पाठेघर प्रवेश गर्छ। यदि डिम्ब शुक्रकिटसँग सिंचित भएन भने डिम्ब मर्छ र रगतसगैं पाठेघर हुदै योनीबाट बाहिर निक्लिन्छ । रगतबग्ने क्रम ३ देखि ७ दिनसम्म चल्छ । कुनैबेला अलि बढी रगत बग्छ भने कुनै बेला हल्का रगतमात्रै बग्छ ।

सामान्य महिनावारीका विशेषताहरुः
  • महिनावारी हुँदा महिलाको योनी बाट प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
  • धेरै किशोरीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु) ।
  • नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५ वा ७ दिनसम्मको हुन्छ ।
  • धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
  • महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई ovulation भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई तल्लो पेट दुखेको अनुभव हुन्छ ।
  • सामान्यतः २८ दिनको अन्तरमा हुन्छ तर, कसै-कसैमा कहिलेकाही २१ देखि ३५ दिनको अन्तरमा पनि हुन्छ ।
  • सामान्यतः ३-५ दिनसम्म रगत बग्दछ
महिनावारी शुरु हुनु (Menarche)
महिनावारी सुरु हुनुलाई 'मेनार्क' Menarche भनिन्छ । सामान्यतः १२ बर्षको उमेरमा महिनावारी शुरु हुन्छ । यो महिनावारी सुरु हुने औसत उमेर हो। तर, सबै किशोरीमा १२ बर्षकै उमेरमा महिनावारी शुरु हुन्छ भन्न सकिँदैन । कसैमा अलि चाँडो र कसैमा अलि ढिलो सुरु हुन्छ । ससामान्यतया ९ देखि १६ बर्षको उमेरमा महिनावारी भईसक्छ ।

महिनावारी रोकिनु (Menopause)
महिनावारी हुने क्रम रोकिनुलाई 'मेनोपज' Menopause वा रजोनिवृत्त भनिन्छ । महिनावारी नरोकिन्जेल हरेक महिना महिनावारी भइरहन्छ । सामान्यतः ४५ देखि ५५ बर्षको उमेरमा 'मेनोपज' हुन्छ । 'मेनोपज' हुनु वा रजस्वला हुने क्रम रोकिनुको अर्थ डिम्बाशयबाट डिम्ब परिपक्वभई पाठेघरमा आउने क्रम रोकिनु हो । महिनावारी हुने क्रम रोकिएपछि महिलासँग प्रजनन् क्षमता हुँदैन । महिनावरी सुरु हुने उमेर किशोरीहरुमा फरक-फरक भएजस्तै रोकिने उमेर पनि महिला अनुसार फरक-फरक हुन्छ ।

महिनावारी हुनुअघि के-कस्ता लक्षणहरू देखा पर्छन् ? (Premenstrual Symptoms)
महिनावारी हुनुअघि किशोरीहरूमा विभिन्न भावनात्मक, मनोवैज्ञानिक र शारीरिक लक्षणहरू देखा पर्छन् । विज्ञहरूका अनुसार प्रजनन् क्षमता भएका प्रायः महिलाहरूमा यी लक्षणहरू देखा पर्छन् । यो सबै महिनावारीमा हुने प्रोजेष्टेरोन नामक रागरासले गर्दा भएको हो र यी लक्षणहरुलाई महिनावारी हुनु पूर्वका लक्षणहरु भनिन्छ । महिनावारी पूर्व हुन सक्ने लक्षणहरू यस प्रकार छन्ः
  • तल्लो पेट दुख्नु
  • डन्डीफोर आउन थाल्नु
  • टाउको दुख्नु
  • ढाड दुख्नु, मासंपेशी दुख्नु
  • तनाव महशुस हुनु
  • भावुक वा दिक्कहुनु
  • निन्द्रा नपर्ने
  • ध्यान केन्द्रित गर्न नसक्नु
  • स्तन कडा हुनु वा बढ्नु
  • शरीरको तौल हल्का बढ्नु
  • धेरै खाना रुच्नु
  • थकित हुनु
प्रायः धेरै किशोरीहरूमा महिनावारी सकिँदा सम्म यी लक्षणहरू आफै हराउँदछ ।

महिनावारीको समयमा स्वस्थ बानी अभ्यास कसरी गर्ने ?
  • शौचालय प्रयोग गर्नु अघि र पछि आफ्नो हात राम्रोसँग धुने बानी बसाल्ने ।
  • प्रयोग गरिएको डिस्पोजेवल प्याड ठीकसँग ठिक ठाउँमा विर्सजन गर्ने, तिनीहरूलाई कागज, टिश्यु, वा अन्य सामग्रीले बर्ने फोहोरको डिब्बामा फ्याँक्ने तरशौचालयमा प्याडलाई फ्लश गर्नु हुँदैन ।
  • हल्का रगत बगेको भएपनि हरेक केही घण्टाको फरकमा सेनेटरी प्याड परिवर्तन गर्ने । धेरै रगत बगेको छ भने बारम्बार सेनेटरी प्याड परिवर्तन गर्ने ।
  • Menstrual Cup प्रयोग गरेको भए प्रयोगपछि हरेक दिन Menstrual Cup गर्नुपर्दछ । महिनावारी सकिएपछि कपलाई राम्ररी धुने र त्यसपछि एकदेखि दुई मिनेटसम्म उमालेको पानीमा राखी सफा गर्नुपर्दछ ।
  • प्रजनन अंग सफा राख्ने । हरेक पटक शौचालय जाँदा योनि धुने (अगाडिबाट पछाडि सफा गर्ने)
  • पर्याप्त पानी पिउने गरेमा यसले पिसाबको संक्रमण रोक्न मद्धत गर्दछ ।