Anti-Malaria Month
June
Public Health Related Months
All
Shisir Kumar Adhikari
0
782
0
Anti-Malaria Month
औलो रोग सम्बन्धि जनचेतना फैलाउने र यस विरुद्धको प्रयासलाई सशक्त बनाउने उद्धेश्यले प्रत्येक जुन महिनालाई Anti-malaria Month को रुपमा मनाइन्छ। लामखुट्टेबाट सर्ने यो रोगले हरेक वर्ष विश्वभर लाखौं मानिसलाई प्रभावित पार्छ । विशेष गरी उष्ण क्षेत्र (tropical area) तथा उपोष्ण क्षेत्र (sub-tropical area) का समुदायहरूमा यसको प्रभाव ठूलो छ।
औलो नेपालको प्राथमिकतामा पर्ने एक प्रमुख जनस्वास्थ्य समस्या हो । नेपालमा ४०% भन्दा बढी जनसंख्या अझै पनि औलोको जोखिममा छ । मुख्यतः प्रभावकारी र सफल औलो कार्यक्रमले गर्दा औलोको जोखिममा रहेको जनसंख्या र क्षेत्र विगतका वर्षहरूमा घट्दै गएको छ । स्थानीय औलो (indigenous) का बिरामीहरू विगतका वर्षहरूमा कम हुँदै गएका छन् जसले गर्दा स्थानीय स्तरमा औलो सर्ने प्रक्रियालाई अवरोध गर्न सजिलो भएको छ । नेपाल औलो रणनीतिक योजना २०२५-२०३० (Nepal Malaria Strategic Plan, 2025-2030) अनुसार नेपाललाई सन् २०३० सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । सोही अनुसार औलो निवारण लक्षित कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय स्तरमा संचालन हुँदै आईरहेका छन् ।
औलो रोगको परिचय
औलो लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको सरुवा रोग हो, जुन सामान्यतयाः संक्रमित एनोफिलिज (Anopheles) जातको लामखुट्टेको टोकाइबाट सर्दछ । संक्रमित लामखुट्टेले प्लाज्मोडियम परजीवीलाई बोक्ने गर्छ र जब लामखुट्टेले मानिसलाई टोक्दछ, तब यो मानिसको रगतमा प्रवेश गर्छ । मानिसमा हुने औलो मुख्यतः ४ प्रजातीका परजीवीहरूबाट हुने गर्दछ : प्लाज्मोडियम फाल्सिपारम (Plasmodium falciparum), प्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax), प्लाज्मोडियम ओभली (Plasmodium ovale) र प्लाज्मोडियम मलेरी (Plasmodium malariae) । प्लाजमोडियम प्रजातिको पाँचौ सदस्य प्लाज्मोडियम नलेसी (P. knowlesi) हो जसले बाँदरबाट मानिसमा संक्रमण गराउँदछ । यो जो कोहीलाई लाग्न सक्छ । तर विशेष गरी ५ बर्ष मुनिका बालबालिका, गर्भवती महिला र एच.आइ.भी/एड्स संक्रमित बिरामीहरू यो रोगको बढी जोखिममा हुन्छन् ।
सर्ने तरिका
औलो सर्ने सबैभन्दा प्रमुख तरिका लामखुट्टेको टोकाइबाट हो । रक्तदानबाट वा सिरिन्जहरू एकआपसमा साट्दा पनि औलो संक्रमित व्यक्तिबाट सर्न सक्छ । संक्रमित रगत यसरी सर्दा लक्षण देखिने समय छोटो हुनसक्छ किनकी त्यसमा कलेजोमा हुने चरण हुँदैन । यसरी सरेको प्लाज्मोडियम फाल्सिपारममा मृत्युको जोखिम बढी हुन्छ । प्लाज्मोडियम भाइभेक्स वा प्लाज्मोडियम ओभलीको संक्रमणमा कलेजोमा हुने चरण नहुने हुँदा यी संक्रमणमा औलो फेरि दोहोरिँदैन । जन्मजात औलो सरेको अभिलेख पनि छ तर साल (placenta) को गम्भीर संक्रमण भए तापनि यसलाई अरु भन्दा दुर्लभ नै मानिन्छ ।
औलोका लक्षणहरू
- मुख्य लक्षण काम ज्वरो आउनु हो । ज्वरो एक दिन विराई वा नियमित आउन सक्छ । ज्वरो आउँदा प्रायः जाडो लाग्ने, काँप छुट्ने र पसिना आउने हुन्छ ।
- टाउको दुख्ने,
- थकान/कमजोरी महसुस हुने,
- वाकवाकी लाग्ने, बान्ता हुने,
- गम्भीर तथा जटिल औलो भएमा हाड जोर्नीहरू दुख्ने, बेहोस् हुने, सास फेर्न गाह्रो हुने आदि ।
- औलोको बिरामीले समयमा उपचार नपाए मृत्यु समेत हुन सक्छ ।
परीक्षण तथा उपचार
ज्वरोसहित औलो रोगका अन्य लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई रगत जाँच गराउनु पर्दछ । यदि रगत जाँच गर्दा औलो रोग देखिएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ ।
औलोबाट बच्ने उपायहरू
लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो ।
लामखुट्टेको टोकाईबाट कसरी बच्ने ?
- झुलको प्रयोग गर्ने (कीटनाशक युक्त झुल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने),
- घरको झ्यालढोकामा जाली लगाउने,
- औलो सार्ने लामखुट्टेले साँझ र रातीको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझपख घर बाहिर नबस्ने,
- बाहिर जाँदा (वन जङ्गल अथवा खेतबारीमा) लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने,
लामखुट्टेको नास तथा वृद्धि विकास नियन्त्रण गर्ने
- घरका कुना काप्चा र गोठमा कीटनाशक औषधी छर्कने र छर्केको कम्तिमा तीन महिनासम्म लिपपोत गर्नुहुँदैन ।
- घर वरपर पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिनुपर्छ ।
- खाल्टोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेको लार्भाहरू मर्दछन् ।
औलोको शंकास्पद बिरामी भेटिएमा के गर्ने ?
- तुरुन्त औलो परिक्षण र उपचारको लागि स्वास्थ्य संस्थामा जानको लागि सल्लाह सुझाव दिने ।
- परिक्षण मार्फत औलो लागेको निश्चित भएमा २४ घण्टाभित्रै जिल्ला स्वास्थ्य /जनस्वास्थ्य कार्यालयमा वा मोबाईल SMS बाट जानकारी गराउने ।
- SMS गर्दा शुरुमा mal टाईप गरेर निम्न विवरणहरु समावेश गर्ने जसलाई ३६०४० मा निःशुल्क पठाउन सकिन्छ ।
- (mal
DistrictName MunicipalityName WardNo ToleName PatientName PatientContactNumber) - प्राप्त जानकारीको आधारमा जिल्ला र स्थानीय स्वास्थ्यकर्मीको टोलीले बिरामीको खोजपड्ताल गर्ने ।
- खोजपड्ताल गर्दा बिरामीको विवरण लिनुका साथै बिरामीको घरलाई केन्द्रविन्दु मानेर वरिपरिका २५ देखि ५० घरधुरीका (१ देखि २ कि.मि. भित्र स्थानीय भौगोलिक परिवेसमा) वासिन्दामा ज्वरोको जाँच तथा रक्त नमुना परिक्षण गर्ने ।
जनचेतना
- "सबै ज्वरो औलो हुन सक्दैन तर ज्वरो विना औलो हुँदैन"
- ज्वरो आएमा सबै भन्दा पहिले औलोको जाँच गराई हाल्नु पर्दछ ।
- छिमेकमा कसैलाई ज्वरो आएमा औलोको जाँच गराई स्वास्थ्य संस्थामा अविलम्व पठाउने वा जानलाई प्रेरित गर्नुपर्दछ ।
- औलोको जाँच तथा उपचार स्वास्थ्य संस्थाहरुमा निःशुल्क गरिन्छ ।
- कीट्नाशक औषधीको छिड्काउ हुँदा प्रायःजसो सबै घरमा छिड्कन लगाउने र कम्तीमा ३-४ महिना सम्म लिपपोत गर्नुहुँदैन ।
- कीटनाशक विषादी युक्त फूललाई धुदा साबुन वा सरफको प्रयोग नगर्ने, सफा पानीमा मात्रै धुने र छाँयामा सुकाउने ।
